काठमाडौ । भोक्राहा नरसिंह गाउँपालिकाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोगस्वरूप संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट आएको लेदोसहितको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई सहयोग पुर्याउन उक्त रकम प्रदान गर्न लागेको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले जारी गरेको विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, विभिन्न संघसंस्था तथा नागरिक समाजप्रति धन्यवाद व्यक्त गरेको छ।
विपद्बाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष आजादले यस कठिन समयमा प्रभावित परिवार र समुदायको साथमा गाउँपालिका रहेको बताएका छन्।









प्रतिक्रिया