मुगु । मुगुमा शुक्रबार साँझदेखि निरन्तर वर्षासँगै हिमपात हुँदा अत्यधिक चिसो बढेको छ। चिसो बढेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको छ।
गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घण्टाको अवधिमा जिल्लामा ३९.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
केन्द्रका अनुसार शनिबार बिहान ८:४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ।
मौसममा आएको परिवर्तनसँगै तापक्रम घट्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू बढी प्रभावित भएका गमगढी हावापानी मापन केन्द्रकी अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिइन्।
निरन्तर वर्षाका कारण जिल्लाको हवाई सेवा तथा सडक यातायातसमेत प्रभावित भएको छ। वर्षासँगै बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ।
हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिकाका डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु र चिमातलगायतका गाउँ बढी प्रभावित भएका छन्। ती क्षेत्रमा बाक्लो हिमपात र वर्षा भएपछि अत्यधिक चिसो बढेको बताइएको छ।
स्थानीयका अनुसार हिमपात र वर्षाका कारण एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्न तथा पशुचौपायालाई चराउन समेत समस्या भएको छ। मुगुका उच्च हिमाली क्षेत्र र बस्तीमा हिमपात भइरहेको छ भने होचा क्षेत्रमा शुक्रबार साँझदेखि वर्षा भइरहेको हावापानी मापन केन्द्रले जनाएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मुगुले वर्षा र हिमपातका क्रममा अत्यावश्यक कामबाहेक घर वा सुरक्षित स्थानमै बस्न तथा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्लामा वर्षा र हिमपात जारी रहे पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।









प्रतिक्रिया