काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।
आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्रश्राद्ध गर्ने कि नगर्ने भन्ने विषयमा धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रश्न गरेका थिए । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार नेपालमा ग्रहण नदेखिने भएकाले बार्नु नपर्ने र यसले कुनै दोष नलाग्ने स्पष्ट भएको हो ।
उनले भने, “नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको छ ।”
समितिले दिएको जानकारीअनुसार आजको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिकालगायत केही देशबाट मात्र देखिनेछ ।
प्रतिक्रिया