काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २५ वटा विपद्जन्य घटना घटेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीमध्ये सबैभन्दा धेरै २२ वटा घटना आगलागीका रहेका छन्।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार कतै डढेलो त कतै भान्सामा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको छ। बिजुली सर्ट, असावधानी तथा जनचेतनाको अभावका कारण पनि आगलागीका घटना भएको उल्लेख गरिएको छ।
सबैभन्दा बढी रौतहट जिल्लामा तीन स्थानमा आगलागी भएका छन् भने पाँचथर, झापा, कास्की र स्याङजाका दुई–दुई स्थानमा आगलागीका घटना दर्ता भएका छन्। मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक–एक स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ।
हिउँद याममा आगो ताप्ने क्रममा, सलाइको काटी खेलाउँदा तथा धानको कुन्युमा केटाकेटी खेल्दा समेत आगलागी भएको पाइएको छ। काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित पुरानो दक्षिणकाली जंगलमा लागेको डढेलो इलाका प्रहरी कार्यालय फर्पिङको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
आगलागीसँगै अन्य विपद्का घटनासमेत भएका छन्। पाल्पामा पहिरो गएको छ भने मोरङका दुई स्थानमा जङ्गली हात्तीको आक्रमण भएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका–१२ मा हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ।
पछिल्लो २४ घण्टामा भएका विपद्जन्य घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्राधिकरणका अनुसार यी घटनाबाट करिब ७२ लाख ९ सय रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।










प्रतिक्रिया