२४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीपीसीए टाइटल स्पोन्सर VIT द्वारा बाढीपीडितलाई २५ हजार अष्ट्रेलियन डलर सहयोग



काठमाडौं । अष्ट्रेलियास्थित भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (VIT) ले नेपालका बाढीपीडित परिवार तथा प्रभावित समुदायका लागि २५ हजार अष्ट्रेलियन डलर सहयोग गरेको छ।

गण्डकी प्रदेश क्रिकेट संघ (GPCA) को टाइटल स्पोन्सरसमेत रहेको VIT ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।

VIT का डाइरेक्टर अफ इन्टरनेसनल बाबु खनालले बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराएका हुन्।

नेपालमा आएको बाढीबाट प्रभावित परिवारप्रति चिन्ता व्यक्त गर्दै खनालले विपद्को समयमा आफूहरू नेपाली समुदायसँगै रहेको बताएका छन्। नेपालमा रहेका VIT का विद्यार्थी, कर्मचारी, सहकर्मी तथा उनीहरूका परिवारसमेत प्रभावित हुन सक्ने भन्दै उनले कठिन परिस्थितिमा सहयोग गर्नु आफ्नो दायित्व भएको उल्लेख गरेका छन्।

नेपाललाई आफ्नो मातृभूमि मान्दै आएका खनालले विपद्का कारण प्रभावित परिवारले भोगिरहेको क्षति, अनिश्चितता र कठिनाइमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताएका छन्।

VIT ले पछिल्लो समय शिक्षासँगै क्रिकेटमार्फत पनि नेपालसँगको सम्बन्धलाई विस्तार गर्दै आएको छ। संस्थाले GPCA को टाइटल स्पोन्सरका रूपमा गण्डकी प्रदेशमा पुरुष तथा महिला क्रिकेटको विकास, युवा खेलाडीको अवसर विस्तार तथा ग्रासरुटदेखि वरिष्ठ तहसम्मका क्रिकेट गतिविधिमा सहयोग गर्दै आएको छ।

VIT को पछिल्लो सहयोगले नेपालसँगको सम्बन्ध खेलकुद र शिक्षामा मात्र सीमित नरहेको तथा विपद्का बेला नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउने प्रतिबद्धता पनि देखाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : १३ बजे