काठमाडौं । सुदूरपश्चिमको लोकसंस्कृति, जनविश्वास, भाषा र सामाजिक जीवनलाई कथाको केन्द्रमा राखिएको नाटक ‘श्री बिज्जो भूत’ यतिबेला काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।
दिवस नाथको लेखन तथा बुद्धि तामाङ र आकाश नेपालीको निर्देशन रहेको नाटकमा स्नेहा जोशी, आदित्य मिश्र, सुस्मिता कुँवर, भूमि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मा र समृद्धि नेपाललगायत कलाकारको अभिनय रहेको छ।

नाटकले २०५० को दशकको सुदूरपश्चिमेली समाज, त्यहाँको सामाजिक परिवेश तथा रोजगारीका लागि भारत पलायन भएका पुरुषहरूको पर्खाइमा वर्षौं बिताइरहेका महिलाको जीवनलाई कथाको मुख्य विषय बनाएको छ।
नाटकको कथा गौरी र उनकी आमाले वर्षौंदेखि भारतमा रोजगारीका लागि गएका बाबुको प्रतीक्षा गरिरहेको अवस्थाबाट सुरु हुन्छ। परदेशिएका आफन्तको पर्खाइ, पारिवारिक सम्बन्ध, सामाजिक बाध्यता र गाउँको जीवनशैलीलाई कथाले विभिन्न घटनामार्फत प्रस्तुत गर्छ। गौरीलाई मुम्बई लैजाने प्रयाससँगै कथा अघि बढ्दै जाँदा पात्रहरूको व्यक्तिगत जीवनसँगै तत्कालीन सुदूरपश्चिमेली समाजका विभिन्न पक्षसमेत दर्शकमाझ आउँछन्।
नाटकमा स्नेहा जोशीसहित आदित्य मिश्र, सुस्मिता कुँवर, भूमि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मा र समृद्धि नेपालले सुदूरपश्चिमको मौलिक परिवेशअनुसार पात्रलाई प्रस्तुत गरेका छन्। कलाकारहरूको अभिनयमा स्थानीय लबज, बोलीचाली, पहिरन र जीवनशैलीलाई प्राथमिकता दिइएको छ।

हास्य र करुणालाई सँगसँगै अघि बढाइएको नाटकमा संवादसँगै गीत, मौलिक नृत्य र स्थानीय जनविश्वासलाई समेत कथावाचनको हिस्सा बनाइएको छ। यसले नाटकलाई केवल पारिवारिक वा सामाजिक कथामा सीमित नराखी सुदूरपश्चिमको सांस्कृतिक परिवेशलाई समेत रंगमञ्चमा प्रस्तुत गरेको छ।
नाटकको शीर्षकमा रहेको ‘श्री बिज्जो भूत’ डडेलधुराको निङ्लाइ गाउँमा प्रचलित स्थानीय जनविश्वाससँग जोडिएको छ। गलत काम गर्ने व्यक्ति बिज्जो भूतको क्षेत्रबाट उम्कन नसक्ने विश्वासलाई नाटकको कथावस्तु, वातावरण र पात्रहरूको यात्रासँग जोडिएको छ।

सीमित ब्ल्याकबक्स रंगमञ्चमा सुदूरपश्चिमको भूगोल, संस्कृति र तत्कालीन सामाजिक परिवेशलाई प्रस्तुत गर्नु नाटकको अर्को विशेषता हो। मञ्च सजावट, प्रकाश, संगीत, गीत र कलाकारहरूको प्रस्तुतिमार्फत गाउँको वातावरणलाई रंगमञ्चमा उतार्ने प्रयास गरिएको छ।
‘श्री बिज्जो भूत’मार्फत सुदूरपश्चिममा लामो समयदेखि प्रचलित लोकविश्वास, परदेश पलायनको सामाजिक प्रभाव, परिवारको पर्खाइ र महिलाको जीवनसँग जोडिएका कथालाई काठमाडौंका दर्शकमाझ प्रस्तुत गरिएको छ। नाटकले सुदूरपश्चिमको मौलिक भाषा, संस्कृति र सामाजिक कथालाई रंगमञ्चमार्फत नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ।









प्रतिक्रिया