जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद्ध नागरिकता लिएकाहरूको सन्तानलाई चाँडो नागरिकता कानून संसद्बाट पास गरेर दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
जसपाका अध्यक्ष यादवले जसपा लोकतान्त्रिकसँग आज जनकपुरधाममा भएको पार्टी एकीकरण कार्यक्रममा बोल्नुहुँदै नागरिकता पाउनबाट वञ्चित भएका १० लाख मतदाताहरूले स्थानीय तहको चुनावमा मतदान गर्नबाट वञ्चित भएको बताउनुभयो ।
उहाँले शीघ्र नागरिकता प्रदान गरेर प्रदेश तथा सङ्घीय संसद् अगाडी नै सबैको नाम मतदाता नामावलीमा समावेश हुनुपर्ने माग गर्नुभयो ।
उहाँले भर्खरै सम्पन्न भएको जनगणनामा मधेसको जनसङ्ख्या ५३ प्रतिशत पुगेको बताउँदै अहिलेको निर्वाचन क्षेत्रमा सुधार गरेर जनसङ्ख्याका आधारमा तोकिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले अहिले पनि सरकारी सेवामा विभेद कायमै रहेको बताउँदै मधेसी, आदिवासी तथा जनजातिको उचित प्रतिनिधित्व हुन नसकेको बताउँदै सहभागिता बढाउने नीति बनाउनका लागि सुझाव दिनुभयो ।
अध्यक्ष यादवले समानुपातिक निर्वाचन प्रणाली सामाजिक न्यायका लागि आएको भए पनि सो अनुसार व्यवहारमा कार्यान्वयन नभएको बताउँदै पार्टीले नै मत पाउने गरी पूर्ण निर्वाचन प्रणाली आवश्यक भएको बताउनुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री एवं पार्टीका नेता लालबाबु राउतले समान विचार र सिद्धान्त भएका पार्टीहरूका बीचमा एकता जारी रहने बताउँदै प्रदेश सरकारसँग भएको अधिकार अनुसार काम गरेको बताउनुभयो ।
जसपा लोकतान्त्रिकका अध्यक्ष रितेश सिंह नेतृत्वमा रहेको पार्टी औपचारिक रुपमा जनता समाजवादी पार्टी नेपालमा आजदेखि समाहित भएको हो ।
प्रतिक्रिया