१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको घुइँचो



काठमाडौं । बालाचतुर्दशी मेलामा सहभागी भक्तजनहरूले आज बिहान पशुपति मन्दिर क्षेत्रका विभिन्न तीर्थस्थलमा पितृहरूका नाममा शतबीज छरेका छन्। अघिल्लो दिन त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका स्मृतिमा बत्ती बालेर रातभर जाग्राम बसेकाहरूले बिहानै उठेर सदगतीको प्रार्थना गर्दै शतबीज छर्ने परम्परा अनुसार श्रद्धाञ्जली अर्पण गरेका हुन्।

परम्पराअनुसार धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात प्रকারका अन्न मिसाएर बनाइने शतबीज पशुपति क्षेत्रका १०८ शिवलिङ्ग तथा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप र किराँतेश्वरलगायतका स्थानमा छर्ने गरिन्छ।

शतबीज छर्दै तीर्थयात्रीहरू मृगस्थलीस्थित बहिरा गणेशको नजिक आइपुगेपछि गणेशको शिलालाई हल्का हल्लाउँदै दिवंगत आत्माले सुन्ने गरी सन्देश पुर्‍याइदिन विन्ती गर्ने धार्मिक चलन रहेको विश्वास छ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्वका लागि हरेक वर्षजस्तै आज पनि देशका विभिन्न स्थानबाट भक्तजनहरूको ठूलो भीड पशुपतिनाथमा लागेको देखिन्छ। त्रयोदशीको बिहानैदेखि नै पशुपति क्षेत्रमा तीर्थालुहरूको ओहोरदोहोर बाक्लो रहेको छ।

यससँगै डोलेश्वर महादेव, ज्योतिर्लिङ्गेश्वर–गोकुलधाम, चितवनको देवघाटलगायत अन्य तीर्थस्थलहरूमा पनि आज बिहान भक्तजनहरूले पितृका नाममा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ०० बजे