काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार यस मौसममा २० वटा हिमाल आरोहणका लागि ७१ समूहका ६४८ आरोहीलाई अनुमति दिइएको हो । अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला छन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिने आरोहीमध्ये चीनका सबैभन्दा धेरै ११८ जना छन् । त्यस्तै, फ्रान्सका ५१, रसियाका ५७, अमेरिकाका ४१, बेलायतका ३८, जर्मनीका ३४, पोल्याण्डका १९, भारतका १८, अष्ट्रेलियाका १७, क्यानडाका १६, जापानका २१, चेक रिपब्लिकका १६, स्पेनका १५ र स्वीजरल्याण्डका १३ जना छन् ।
त्यस्तै, नेपालका २०, अर्जेन्टिनाका ७, बेल्जियमका ७, बुल्गेरियाका ५ लगायत अन्य देशका आरोहीले पनि आरोहण अनुमति लिएका छन् ।
आरोहण अनुमति प्रदान गरेबापत पर्यटन विभागले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
यसपटक सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन् । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन् । मनास्लुबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना र बरुणत्से हिमाल आरोहणका लागि एक टोलीका १० जनाले अनुमति लिएका छन् ।
यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका लागि पनि अनुमति दिइएको विभागले जनाएको छ ।
पर्यटन विभागले जारी गरेको आरोहण अनुमतिबाट यस शरद् ऋतुमा मात्रै २३ करोड ८९ लाख रुपैयाँभन्दा बढी रोयल्टी आम्दानी भएको हो ।RSS









प्रतिक्रिया