३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुका चारवटै पालिकामा फागुन ४–६ गते किशोरी लक्षित खोप अभियान सञ्चालन हुने



सरस्वती बुढा सुर्खेत

मुगु – हिमाली जिल्ला मुगु का चारवटै स्थानीय तहमा फागुन ४ गतेदेखि ६ गतेसम्म किशोरी लक्षित खोप अभियान सञ्चालन गरिने भएको छ। किशोरीहरूको स्वास्थ्य सुरक्षा सुदृढ गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय मुगुले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार अभियान अन्तर्गत जिल्लाभर ५१ वटा विद्यालय र ६५ वटा संस्थागत खोप केन्द्र स्थापना गरिनेछ। यसरी जम्मा ११८ वटा खोप केन्द्रमार्फत ७६२ जना किशोरीलाई खोप लगाइने निर्णय गरिएको छ। अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक पूर्वतयारी पूरा गरिएको कार्यालयले जनाएको छ।

पालिकागत विवरणअनुसार छायाँनाथ रारा नगरपालिकामा सबैभन्दा बढी २७४ जना किशोरीलाई खोप लगाइनेछ। त्यसैगरी सोरु गाउँपालिकामा १८४ जना, खत्याड गाउँपालिकामा २२५ जना तथा मुगुम कार्मारोङ गाउँपालिकामा ७९ जना किशोरीलाई लक्षित गरिएको छ।

अभियानमा कक्षा ६ र १० मा अध्ययनरत किशोरीहरूलाई प्राथमिकतामा राखिएको छ। साथै कक्षा ८–१० मा अध्ययनरत तथा ११ देखि १४ वर्ष उमेर समूहका खोप लगाउन छुट भएका किशोरीहरूलाई पनि समेटिने जनाइएको छ। विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका लक्षित उमेर समूहका किशोरीहरूलाई समेत खोप सेवाको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ।

खोप अभियानलाई सफल बनाउन तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरिनेछ। स्वास्थ्यकर्मीहरूले विद्यालय तथा समुदायस्तरमा समन्वय गर्दै लक्षित समूहसम्म पुगेर खोप सेवा प्रदान गर्नेछन्। साथै अभिभावक तथा सरोकारवाला निकायसँग सहकार्य गरी अभियानलाई प्रभावकारी बनाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

दूरदराज र भौगोलिक रूपमा विकट मानिने मुगु जिल्लामा खोप सेवाको पहुँच विस्तार गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय तह, विद्यालय र समुदायको सहकार्यमा अभियान सफल हुने विश्वास गरिएको छ। अभियान सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना गरिने पनि जनाइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार यस अभियानले किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई भविष्यमुखी स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय तह तथा सरोकारवाला निकायहरूले अभिभावक तथा समुदायलाई लक्षित समूहका किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ३५ बजे