जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले १०० दिन पूरा गरेको छ ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले आफ्नो कार्यकालका ५१ उपलब्धि सार्वजनिक गरेका हुन् ।
उनले सुरुआती चरणमा मन्त्रीपरिषद् पूर्ण नहुनु, निर्वाचन आचारसंहिता लागू हुनु र संघीय सरकार गठन प्रक्रिया जारी रहनुले काम गर्न केही कठिनाइ भएको बताए । ती चुनौतीबीच पनि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको उनको दाबी छ ।
स्वास्थ्यतर्फ जनकपुर प्रादेशिक अस्पतालमा अनलाइन टिकट प्रणाली सुरु गरिएको छ । बिरामीले घरबाटै टिकट काट्न सक्ने, बैंकिङ प्रणालीमार्फत शुल्क भुक्तानी गर्न सक्ने र ल्याब रिपोर्ट अनलाइन हेर्न सक्ने व्यवस्था गरिएको सरकारले जनाएको छ ।
शिक्षा क्षेत्रमा ‘प्रत्येक निर्वाचन क्षेत्र एक नमुना विद्यालय’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ वटा विद्यालयमा काम सुरु गरिएको छ । प्रत्येक विद्यालयमा न्यूनतम ५० लाख रुपैयाँ लगानी गर्ने योजना रहेको छ ।
कृषि क्षेत्रमा मल आपूर्ति सुनिश्चित गर्न पहल गरिएको र मलमा घटाइएको अनुदान पुनर्स्थापनाका लागि संघीय सरकारसमक्ष प्रस्ताव पठाइएको मुख्यमन्त्री यादवले बताए ।
सिँचाइ व्यवस्थापनका लागि भूमिगत जल अध्ययन गरी सिँचाइ जोन पहिचान गर्न विशेषज्ञ टोली गठन गरिएको छ । भूमिगत पानीको सतह घट्दो अवस्थालाई समाधान गर्न नीति निर्माण प्रक्रिया पनि अघि बढाइएको छ ।
पर्यटन प्रवर्द्धनतर्फ जानकी मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया सुरु गरिएको छ ।
पूर्वाधारतर्फ ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर सडक’ योजना अन्तर्गत पहिलो चरणका काम सम्पन्न भएको र दोस्रो चरण सुरु गर्ने तयारी गरिएको छ ।
राम–जानकी रंगशाला निर्माणका लागि बजेट व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ । भारत सरकारले १६० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको र बाँकी रकमका लागि संघीय सरकारसँग पहल भइरहेको जनाइएको छ ।
वन व्यवस्थापनतर्फ ढला–पडा काठ संकलन गरी जनतामा वितरण गर्ने तयारी गरिएको छ ।
मुख्यमन्त्री यादवले जेनजी आन्दोलन का कारण सुरुआती दिनमा कार्यालय अभाव भएको र गृह मन्त्रालयको एक कोठाबाट काम सुरु गर्नुपरेको बताए ।
सरकारले ५१ उपलब्धि सार्वजनिक गरे पनि अधिकांश योजना कार्यान्वयनकै चरणमा रहेका छन् ।









प्रतिक्रिया