१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान्तिपुरभित्र विवाद, प्रबन्ध निर्देशक सिरोहियाले दिए राजीनामा



काठमाडौं । सम्भव सिरोहिया ले कान्तिपुर मिडिया ग्रुप को प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा बिहीबारदेखि लागू भएको कम्पनीले जनाएको छ।

कर्मचारीलाई पठाइएको सन्देशमा सिरोहियाले पछिल्लो समय कान्तिपुरले गरिरहेको रिपोर्टिङप्रति गम्भीर असहमति जनाएका छन्। विशेषगरी सुधन गुरुङ सम्बन्धी समाचारप्रति उनले आपत्ति जनाएका हुन्।

उनले आरोपहरूलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गरिएको भन्दै आफूले विश्वास नगरेको पत्रकारितासँग जोडिएर नेतृत्व गर्न नसक्ने बताएका छन्।

कान्तिपुरले भने अनुसन्धानकारी निकायको स्रोतका आधारमा गृहमन्त्री गुरुङसँग सम्बन्धित शंकास्पद कारोबारबारेका विवरण सार्वजनिक गरिएको जनाएको छ। ती सामग्रीमा उपलब्ध तथ्य र अनुत्तरित प्रश्न समेटिएको कम्पनीको दाबी छ।

सिरोहियाले नयाँ सरकारले काम सुरु गर्न नपाउँदै प्रमाणित नभएका आरोपमार्फत कमजोर बनाउने प्रयास भएको पनि उल्लेख गरेका छन्।

यसअघि बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङसम्बन्धी समाचारका लिंक र स्क्रिनसट सार्वजनिक गर्दै “यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन” टिप्पणी गरेका थिए।

सिरोहिया २०८० असोजमा प्रबन्ध निर्देशक नियुक्त भएका थिए। त्यसअघि उनी कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए। उनीअघि उनका बुबा कैलाश सिरोहिया प्रबन्ध निर्देशक थिए, जो हाल अभिभावकीय भूमिकामा छन्।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ११ : १९ बजे