काठमाडौं । मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत नेपालका २५ वटा म्यानपावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि ती कम्पनीलाई एफडब्लूसीएमएसबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि बहादुर डाँगीले जानकारी दिएका छन्।
मलेसियाले नेपाली श्रमिक लैजाने प्रक्रियाका लागि नेपालमा इजाजतप्राप्त करिब १ हजार २ सय म्यानपावर कम्पनीमध्ये २५ वटालाई मात्रै एफडब्लूसीएमएसमा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत गरेको थियो।
सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिइएको भन्दै अन्य वैदेशिक रोजगार व्यवसायीहरूले त्यसको विरोध गरेका थिए। उनीहरूले यस्तो व्यवस्थाले प्रतिस्पर्धा सीमित गर्दै केही कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा पहुँच दिने भन्दै यसलाई ‘सिन्डिकेट’को प्रयासका रूपमा व्याख्या गरेका थिए।
विरोधपछि वैदेशिक रोजगार व्यवसायी संघले एफडब्लूसीएमएसमा सूचीकृत २५ कम्पनीलाई सदस्यताबाट समेत निलम्बन गरेको थियो। साथै, उनीहरूमाथि आवश्यक कारबाही गर्न सरकारसँग आग्रह गर्ने निर्णयसमेत संघले गरेको थियो।
यही विवादका बीच एफडब्लूसीएमएसमा सूचीकृत कम्पनीहरूले पनि सामूहिक रूपमा प्रणालीबाट बाहिरिने निर्णय गरेका हुन्। आफूहरूलाई मात्र सीमित गरेर कामदार पठाउने व्यवस्था दीर्घकालीन रूपमा आफ्नै हितमा समेत नहुने निष्कर्षमा पुगेपछि नाम हटाउन सहमत भएको महासचिव डाँगीले बताए।
अब ती २५ कम्पनीले वैदेशिक रोजगार व्यवसायी संघसमक्ष समेत आफ्नो प्रतिबद्धता बुझाउनुपर्नेछ। मन्त्रालयले एफडब्लूसीएमएसमा सूचीकृत सबै २५ म्यानपावर कम्पनीका प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो।
यसैबीच, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूतसँग भएको छलफलमा श्रम आप्रवासनसँग सम्बन्धित विषयलाई द्विपक्षीय संवाद र आपसी सहमतिमार्फत समाधान गर्नुपर्ने धारणा राखेका छन्।
मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद समाधानका लागि सरकार, व्यवसायी र सम्बन्धित पक्षबीच थप छलफल आवश्यक देखिएको छ।









प्रतिक्रिया