रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोले थुनेर बनेको कृत्रिम ताल पुनः फुटेको छ । ड्याम फुटेर ठूलो मात्रामा पानी तलतर्फ बग्न थालेपछि नेपालतर्फ भोटेकोशी र त्रिशूली नदी किनारमा बाढीको जोखिम बढेको छ ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको कृत्रिम ताल फुटेको जानकारी पाएपछि नेपाल प्रहरीले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीले भोटेकोशी र त्रिशूली नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।
रसुवामा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र अन्य जनशक्तिलाई समेत तत्काल काम रोकेर सुरक्षित स्थानमा जान भनिएको छ ।
रसुवामा वस्तुस्थिति नियन्त्रण तथा समन्वयका लागि खटिएका एसएसपी दीप शमशेर जबराका अनुसार ड्याम फुटेको खबर प्राप्त भएसँगै उद्धार तथा राहतमा खटिएका सबैलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको हो ।
बुधबारको भीषण पहिरोपछि बनेको उक्त कृत्रिम तालमा पानीको सतह बढेर ओभरफ्लो भइरहेको अवस्थामा पुनः फुटेको हो । ड्याम फुटेपछि भोटेकोशी र त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया