काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघको १८ औँ वार्षिक साधारण सभा शनिबार नयाँ बानेश्वरस्थित थापागाउँको काठमाडौँ ब्याङ्क्वेटमा सम्पन्न भएको छ। संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा फोटोग्राफी क्षेत्रका विभिन्न व्यक्तित्व, संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वरिष्ठ सिनेमाटोग्राफर तथा संघका सल्लाहकार मञ्जु कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। संघका सल्लाहकार रत्नमान आशु र राजभाई सुवाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
साधारण सभामा संघका संस्थापक अध्यक्ष ओमबहादुर पाण्डे, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे तथा पूर्व अध्यक्षहरू बालकृष्ण श्रेष्ठ, मोतीबहादुर बोगटी र डिगम्बर राजवंशी लगायतको उपस्थिति थियो। त्यस्तै, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीप राज वन्त, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा फोटोवाक नेपालका अध्यक्ष ओमप्रकाश यादव र नेपाल टेलिभिजनका कार्यक्रम निर्माता दीपक समीर पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका फोटोग्राफर संघका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पूर्व तथा निवर्तमान कार्यसमितिका पदाधिकारी, आजीवन सदस्यसहित फोटोग्राफी क्षेत्रमा आबद्ध फोटोग्राफरहरूको सहभागिता रहेको थियो
साधारण सभामा संघको आगामी कार्ययोजना, फोटोग्राफी क्षेत्रको अवस्था, व्यवसायमा देखिएका चुनौती तथा फोटोग्राफरहरूको हकहितका विषयमा छलफल भएको थियो। सहभागीहरूले पछिल्लो समय फोटोग्राफी क्षेत्रमा आएको प्रविधिगत परिवर्तनसँगै व्यवसायमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै फोटोग्राफरहरूको व्यावसायिक विकासका लागि संघले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
संघले साधारण सभामार्फत आगामी दिनमा फोटोग्राफी क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउँदै अघि बढ्ने जनाएको छ।









प्रतिक्रिया