२८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरको नयाँ अभियान : टोलमै योग, ध्यान र व्यायाम



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महानगरपालिकाले जीवन विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी ‘आरोग्य सहर’ अभियानअन्तर्गत यस्ता कार्यक्रम सञ्चालन गर्न लागेको हो। यसका लागि महानगरपालिका र प्रतिष्ठानबीच समझदारीसमेत भएको छ।

समझदारीअनुसार स्थानीयको माग र वडा कार्यालयको सिफारिसका आधारमा विभिन्न टोल तथा बस्तीमा आरोग्य केन्द्र सञ्चालन गरिनेछ। केन्द्रका लागि आवश्यक स्थान र भौतिक पूर्वाधार महानगरपालिकाले उपलब्ध गराउनेछ भने प्रशिक्षक तथा प्राविधिक व्यवस्थापन प्रतिष्ठानले गर्नेछ।

कार्यक्रममा योग, ध्यान, प्राणायाम र व्यायामसँगै स्वस्थ जीवनशैली, पोषण, सरसफाइ, तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्यसम्बन्धी अभ्यास गराइने महानगरपालिकाले जनाएको छ।

विद्यालयमा विद्यार्थीलाई योग, ध्यान र स्वस्थ जीवनशैलीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अभियान कुनै संस्था विशेषको नभई महानगरवासी सबैको भएको बताएकी छन्। उनले आफ्नो, परिवार र टोलको स्वास्थ्यका लागि कार्यक्रममा सहभागी हुन महानगरवासीलाई आग्रह गरेकी छन्।

कार्यक्रमको सञ्चालन र अनुगमनका लागि महानगरपालिका र प्रतिष्ठानका तीन–तीन जना प्रतिनिधि रहने गरी ‘आरोग्य कार्यदल’ गठन गरिने भएको छ। कार्यदलले कार्ययोजना बनाउने र प्रत्येक महिना कार्यक्रमको समीक्षा गर्ने जनाइएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ५ : ४४ बजे