काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार गरिएका घाइतेको उपचारका लागि नुवाकोटको विदुरस्थित चक्रदेवी अस्पतालमा आपतकालीन सेवा सञ्चालन गरिएको छ।
अस्पतालमा बिहीबारसम्म २४ जना घाइते उपचारका लागि पुगेका छन्। तीमध्ये ९ जना गम्भीर रहेकाले नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको अस्पतालका डा. राकेश परियारले बताए।
बाढीका कारण त्रिशूली, बेत्रावती, ढुंगे र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेपछि सडक तथा पुल अवरुद्ध छन्। त्यसका कारण गम्भीर बिरामीलाई स्थलमार्गबाट काठमाडौं लैजान कठिन भएको अस्पतालले जनाएको छ।
अस्पतालमा अहिले पनि घाइते आउने क्रम जारी छ। १५ शय्याको अस्पतालले ठूलो संख्यामा बिरामी आए ट्रायाज प्रणालीमार्फत उपचार व्यवस्थापन गर्ने तयारी गरेको छ।
तर अस्पतालका लागि अहिले सबैभन्दा ठूलो चुनौती बिजुली र पेट्रोलको अभाव बनेको छ। विद्युत् अवरुद्ध भएपछि बिरामीको निगरानीमा प्रयोग हुने उपकरण सञ्चालन गर्न समस्या भएको छ। जेनेरेटर सञ्चालनका लागि प्रयोग हुने पेट्रोलसमेत सकिँदै गएपछि उपचार सेवा निरन्तर सञ्चालनमा थप कठिनाइ भएको डा. परियारले बताए ।
अस्पतालमा दुई चिकित्सकसहित सीमित स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन्। उद्धार कार्य तीव्र भएसँगै घाइतेको संख्या अझ बढ्न सक्ने अस्पतालको अनुमान छ।









प्रतिक्रिया