काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकसँग प्रत्यक्ष प्रतिबद्धता जनाउँदै ‘नागरिक करार’ सार्वजनिक गरेको छ। पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरूले घरदैलो अभियानका क्रममा मतदातासामु प्रस्तुत गर्ने यो करारमा आगामी पाँच वर्षभित्र सुशासन, रोजगारी, पूर्वाधार, मध्यम वर्ग विस्तार र प्रवासी नेपालीका अधिकारसम्बन्धी ठोस काम गर्ने प्रतिज्ञा गरिएको छ।
करारमा अहिलेको अवस्थालाई भ्रष्टाचार, कम आय, गुणस्तरहीन सेवा र बेरोजगारीले ग्रस्त रहेको भन्दै त्यसलाई सुधार गर्न स्पष्ट लक्ष्य निर्धारण गरिएको उल्लेख छ। सुशासनको क्षेत्रमा भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्दै सरकारी सेवामा पूर्ण डिजिटल प्रणाली लागू गरिने र ट्रान्सपरेन्सी इन्टरनेशनलको सूचकांकमा उल्लेख्य सुधार ल्याइने लक्ष्य राखिएको छ।
मध्यम वर्ग विस्तारका लागि प्रतिव्यक्ति आय वृद्धि, गुणस्तरीय स्वास्थ्य र शिक्षामा पहुँच विस्तार तथा सामाजिक सुरक्षाको दायरा बढाउने प्रतिबद्धता गरिएको छ। त्यस्तै, रोजगारी सिर्जनामा जोड दिँदै आईटी, निर्माण, पर्यटन, कृषि र सेवा क्षेत्रमार्फत लाखौँ नयाँ रोजगारी सिर्जना गर्ने योजना करारमा समेटिएको छ।
पूर्वाधार विकासतर्फ सडक, हवाई, ऊर्जा र डिजिटल सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ भने हजारौँ मेगावाट विद्युत् उत्पादन, हजारौँ किलोमिटर राजमार्ग निर्माण र इन्टरनेट पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। प्रवासी नेपालीका लागि नागरिकताको निरन्तरता, मताधिकार र सुरक्षित लगानी वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि करारमा उल्लेख छ।
रास्वपाले नागरिकको मतलाई राजनीतिक करारका रूपमा लिँदै, करारमा उल्लेखित काम पाँच वर्षभित्र पूरा गर्न नसके अर्को निर्वाचनमा सजाय भोग्न तयार रहने राजनीतिक नैतिकता अपनाउने जनाएको छ। पार्टीका अनुसार यो करार जनतासँग विश्वासको आधारमा गरिएको प्रतिज्ञा भएकाले उल्लेखित लक्ष्यहरू पूरा गर्न सम्पूर्ण शक्ति परिचालन गरिनेछ।









प्रतिक्रिया