११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा पदाधिकारीका लागि राति ९ः१५ बजेदेखि मध्यराति १२ः १५ बजेसम्म मतदान



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा पार्टी पदाधिकारीका लागि राति ९ः१५ बजेदेखि मध्यराति १२ः१५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

निर्वाचन तालिकामा पाँचौंपटक संशोधन गरी पार्टी पदाधिकारीको मतदान समय गर्ने समय तोकिएको छ ।

पार्टी पदाधिकारी पदको फारम वितरण साँझ ६ः३० बजेदेखि ७ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नाम प्रकाशन ७ः३० बजे, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्म, दाबी विरोधमाथि जाँचबुझ गर्ने समय ८ः१५ बजेसम्म रहेको छ।

उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय ८ः३० बजे रहेको छ भने उम्मेदवारको अन्तिम नामावली बेलुकी ८ः४५ बजे सम्म हुने कार्यतालिका छ । बेलुका ८ः४५ बजेदेखि ९:१५ बजेसम्म मौन अवधि र ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

राति १२ः१५ देखि १ः१५ बजेसम्म मतगणना गरी राति १ः३० बजे मतपरिणाम घोषणा हुने कार्यतालिका रहेको छ । उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुने छ ।

रास्वपाका नेता मनीष झाका अनुसार ६ पदाधिकारीलाई मतदान गर्न एकजना प्रतिनिधिलाई चारदेखि पाँच मिनेट लाग्ने अनुमान छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यहरूका लागि भएको मतदानको मत परिणाम आउन बाँकी रहेको छ ।

महाधिवेशनमा केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ९९ केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा खुलातर्फ ६४ सदस्यका लागि २ सय १० जना र भूगोलतर्फ ३५ सदस्यका लागि १ सय ७४ जना गरी कुल ३ सय ८४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

केन्द्रिय निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जना प्रतिस्पर्धा गरेका छन् ।

एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुने छन् । गएराति १२ बजेपछि सुरु भएको मतदानमा प्रतिनिधिले विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरेका थिए ।

रास्वपाको केन्द्रीय सदस्य १ सय ५८ जना भए पनि ९९ जना निर्वाचित हुने र बाँकीलाई पछि मनोनीत गरिने रास्वपा विधानमा उल्लेख छ । जस अनुसार ५१ केन्द्रीय सदस्य मनोनीत हुनेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्यका रुपमा केन्द्रिय सदस्य रहनेछन् ।

विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

रास्वपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति एक जना महिला सहित ३ जना, महामन्त्री २ जना , सहमहामन्त्री १ महिला सहित ५ जना कोषाध्यक्ष १ जना, सह कोषाध्यक्ष २ जना, एक जना प्रवक्ता र सहप्रवक्ता ३ जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ ।

१९ सदस्यीय पदाधिकारी रहने रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था रास्वपाको विधानले गरेको छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना र ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत हुने व्यवस्था विधानमा छ । पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ८ : १४ बजे