झापा । झापाको धुलाबारीस्थित एशियन ल्युब्रिकेन्टस् कम्पनी प्रा.लि.ले आफ्नो व्यावसायिक विस्तारलाई तीव्र बनाउँदै पुँजी संरचना ७० करोड रुपैयाँ पुर्याउने योजना अघि सारेको छ ।
‘ENOL’ ब्रान्डअन्तर्गत इन्जिन आयल, मोटरसाइकल आयल, हाइड्रोलिक तथा गियर आयल, ब्रेक फ्लुड, कुलेन्ट र ग्रीसलगायतका सवारी तथा औद्योगिक उत्पादन बिक्री–वितरण गर्दै आएको कम्पनीले नयाँ उत्पादन र बजार क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरेको हो ।
कम्पनीसँग वार्षिक १८ लाख लिटर ल्युब्रिकेन्ट र ६ लाख किलो ग्रीस उत्पादन गर्ने क्षमता छ । तर हाल कुल क्षमताको करिब १५ प्रतिशत तेल र १० प्रतिशत ग्रीस मात्रै उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी तीन वर्षभित्र विद्यमान पूर्वाधारको पूर्ण उपयोग गर्दै उत्पादन र आम्दानी बढाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०८२/८३ मा २०.८ प्रतिशतको वृद्धिसहित ९ करोड ८१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा ३५.१४ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८४/८५ मा ५०.३५ करोड र २०८५/८६ मा ७५.४५ करोड रुपैयाँ आम्दानी पुर्याउने कम्पनीको लक्ष्य छ ।
व्यावसायिक विस्तारका लागि कम्पनीले प्रस्तावित ३० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । उक्त लगानीबाट ब्लेन्डिङ लाइनलाई पूर्ण अटोमेसन गर्ने, ट्रान्सफर्मर आयलको नयाँ उत्पादन लाइन स्थापना गर्ने तथा देशभर वितरण नेटवर्क विस्तार गर्ने कम्पनीको योजना छ ।
त्यसैगरी, अलकत्रा र औद्योगिक आयलको कारोबारलाई नयाँ बिजनेस भर्टिकलका रूपमा अघि बढाउने तयारी कम्पनीले गरेको छ ।
विशेषगरी ट्रान्सफर्मर आयलमार्फत विद्युत् सबस्टेसन, जलविद्युत् आयोजना तथा नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित ठूला बजारमा प्रवेश गर्ने रणनीति कम्पनीले बनाएको छ ।
कम्पनीले विद्यमान उत्पादन क्षमता र पूर्वाधारको अधिकतम उपयोग गर्दै आगामी तीन वर्षमा उत्पादन, बजार विस्तार र आम्दानीलाई उल्लेख्य रूपमा बढाउने लक्ष्य लिएको जनाएको छ ।









प्रतिक्रिया