१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिउँ छिचोल्दै डोल्पाबाट मुस्ताङ आइपुगे एक हजार भेडाच्याङ्ग्रा



मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा माथिल्लो डोल्पाबाट करिब एक हजार भेडाच्याङ्ग्रा जोमसोम आइपुगेका छन् ।

डोल्पाका व्यापारी शेरबहादुर रोकायाका अनुसार आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर शनिबार साँझ जोमसोम आइपुगेका हुन् । डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ हिँडेको टोली असोज १७ गते साँझ जोमसोम पुगेको हो ।

डोल्पाबाट जोमसोमसम्मको यात्रा पूरा गर्न एक साताभन्दा बढी समय लागेको रोकायाले बताए । उनका अनुसार भारी वर्षा र हिमपातका कारण डोल्पा–मुस्ताङ जोड्ने पदमार्गमा सेताम्मे हिउँ जमेको थियो । अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै भेडाच्याङ्ग्रा ल्याइएको उनले बताए ।

रोकायाले विगत ३० वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आएका छन् । माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएको उनले जानकारी दिए ।

नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यस वर्ष डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको रोकायाको भनाइ छ । उनका अनुसार यसपटक डोल्पाबाट करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको छ ।

हाल ल्याइएका भेडाच्याङ्ग्रा जोमसोमस्थित घरपझोङ गाउँपालिकाको सार्वजनिक मैदानमा राखिएका छन् । रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङ झरिरहेका छन् । गत वर्ष करिब ११ हजारभन्दा बढी भेडाच्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो ।

गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यस वर्ष ठूलो लगानी गरेर च्याङ्ग्रा ल्याएको रोकायाले बताए । बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने उनको भनाइ छ ।

‘हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ । दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो’, रोकायाले भने ।

माथिल्लो मुस्ताङबाट समेत भेडाच्याङ्ग्रा शनिबारसम्म जोमसोम आइपुग्ने बताइएको छ ।

–रासस

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : २९ बजे