२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढीगण्डकीमा आकस्मिक बाढी, पुल र घरमा क्षति



काठमाडौं । गोरखामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बस्तीमा क्षति पुर्‍याएको हो ।

बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३, सिर्दीबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।

धार्चे गाउँपालिका–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । सोही वडाको माछीखोलास्थित तल्लो बस्तीमा समेत बाढी पसेको छ ।

त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–३, सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावरहाउस र आसपासका सातदेखि आठवटा घरसमेत बगाएको प्रारम्भिक विवरण छ ।

आरुघाट गाउँपालिका–९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बगाएको छ । पुलमा क्षति पुगेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, धार्चे गाउँपालिका–३, सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बाढीको कारणबारे अध्ययन हुँदै

बूढीगण्डकीमा बाढी आउनुको कारण अझै खुल्न सकेको छैन । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविज्ञ विनोद पराजुलीका अनुसार बूढीगण्डकीको माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख छैन । त्यसैले सुक्खा पहिरो गएर नदी थुनिएको वा हिमपहिरोका कारण बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।

पराजुलीका अनुसार बाढीको कारण पत्ता लगाउन अध्ययन भइरहेको छ । उनले मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट बाढी सुरु भएको जस्तो देखिएको बताए ।

‘पहिरोले थुनिएको हो वा हिमाली क्षेत्रबाट बाढी सिर्जना भएको हो भन्ने समग्र कारणबारे अध्ययन गरिरहेका छौँ,’ उनले भने ।

उद्धार तथा सतर्कता अपनाउन आग्रह

बाढी प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरीको टोली पनि उद्धार तथा राहत कार्यमा खटिएको छ । प्रहरीले जोखिममा रहेका बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

बाढीको प्रभाव गोरखा, धादिङ, तनहुँ हुँदै मुग्लिन र चितवनसम्म पर्न सक्ने आशंका गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १२ : २० बजे