१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमुख्यसचिव अर्यालको घरमा छापा, दुई ल्यापटप बरामद



काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर विदेश पठाइएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालको घरबाट दुईवटा ल्यापटप बरामद गरेको जनाएको छ । बरामद ल्यापटप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

अर्याललाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गर्न पेश गर्ने प्रहरीको तयारी छ ।

अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । पक्राउपछि प्रहरीले उनको घरमा छापा मारेर ल्यापटप लगायतका सामग्री बरामद गरेको हो ।

अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए । मलेसिया जाने नेपाली श्रमिकबाट अतिरिक्त रकम उठाएर विदेश पठाउनेसम्बन्धी निर्णय हुँदा उनी मन्त्रालयको सचिव रहेको प्रहरीको भनाइ छ ।

एक अर्ब ६९ करोडभन्दा बढी रकम विदेश पठाएको आरोप

मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा अर्याल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मलेसिया जाने श्रमिकबाट सरकारले तोकेको शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’ का नाममा प्रतिश्रमिक थप १०० मलेसियन रिंगिट उठाइएको थियो ।

उक्त रकम म्याक्रो टेक प्रालिमार्फत संकलन गरिएको प्रहरीको आरोप छ । यस प्रकरणका मुख्य आरोपी कैलाश खड्का हुन् । प्रहरीका अनुसार सात लाखभन्दा बढी नेपाली श्रमिकबाट अतिरिक्त रकम संकलन गरिएको थियो ।

अनुसन्धानअनुसार संकलित रकममध्ये एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँभन्दा बढी १७ पटक गरी मलेसिया पठाइएको आरोप छ ।

पूर्वमन्त्रीदेखि सचिवसम्म पक्राउ

यस प्रकरणमा प्रहरीले तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्वसचिव विनोद केसीसहित मन्त्रालयका विभिन्न अधिकारी तथा निजी कम्पनीका सञ्चालकलाई पक्राउ गरिसकेको छ ।

अर्याललाई मंसिर १० गते पक्राउ गरिएको थियो । उनी २०८२ मंसिर ९ गते मुख्यसचिवबाट अनिवार्य अवकाशमा गएका थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि गैरकानुनी रूपमा रकम संकलन गर्ने कार्यमा संलग्न भएको तथा रकम विदेश पठाउने निर्णय र प्रक्रियामा भूमिका खेलेको आरोप छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शुक्रबार  १२ : ४९ बजे