काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन गर्ने घोषणा गरेका छन्।
प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आज पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने अभियान सुरु गरेका छन्।
कार्यक्रमअनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाइनेछ। भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई, भदौ २ गते सांसदहरूलाई ज्ञापनपत्र बुझाउने र राष्ट्रिय परिषद्को भर्चुअल बैठकमार्फत सुझाव संकलन गरिनेछ।
भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक हुनेछ। भदौ ६–७ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिने छ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सनका अध्यक्ष सुभाष न्यौपानेको हस्ताक्षर भएको विज्ञप्तिमा सबै तहका समितिलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ।
प्रतिक्रिया