काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलियागिरी तथा अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको ‘विशेष खोजी’ अभियानमा चार दिनमै देशभरबाट २२६ जना पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा विभिन्न प्रदेश तथा जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अभियान अन्तर्गत चैत १८ गते काठमाडौं उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ गरिएको जानकारी दिए। त्यस्तै, चैत १९ गते कोशी प्रदेशबाट एक, मधेस प्रदेशबाट सात, बागमती प्रदेशबाट २३, गण्डकी प्रदेशबाट दुई र कर्णाली प्रदेशबाट ११ जना पक्राउ परेका थिए।
प्रहरीका अनुसार चैत २० गते मधेस प्रदेशबाट आठ, गण्डकी प्रदेशबाट १०, लुम्बिनी प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई जना पक्राउ परेका छन्। चैत २१ गते मात्रै काठमाडौं उपत्यकाबाट ६२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश व्यक्तिहरू गुण्डागर्दी, बिचौलियागिरी, यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने जस्ता गतिविधिमा संलग्न रहेका छन्।
प्रवक्ता काफ्लेले यस्ता गैरकानुनी गतिविधिविरुद्धको अभियान निरन्तर जारी रहने बताएका छन्।









प्रतिक्रिया