काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आसन्न भारत भ्रमण र प्रधानमन्त्रीको भ्रमणबीच कुनै सम्बन्ध नरहेको सरकारले स्पष्ट पारेको छ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सभापति लामिछाने आफ्नो ढंगले भारत जान लागेको भन्दै त्यसलाई सरकार वा प्रधानमन्त्रीको भ्रमणसँग जोडेर नहेर्न आग्रह गरेका हुन्। रास्वपा सभापति लामिछाने यही जेठ १८ र १९ गते भारत भ्रमणमा जाँदैछन्।
प्रधानमन्त्रीको भारत भ्रमण तय नभइरहेको अवस्थामा लामिछानेको भ्रमणलाई ‘विकल्प’ का रूपमा हेरिएको हो कि भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता पोखरेलले उक्त कुरा प्रस्ट पारेका हुन्। “सभापतिज्यू आफ्नो हिसाबले जानुभएको हो। यसलाई प्रधानमन्त्रीज्यूको भ्रमणसँग जोडेर हेर्न त पाइयो, तर त्यसको कुनै साइनो छैन,” उनले भने।
साथै, प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणको समय तय भएपछि मात्रै त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए। सरकारको पहिलो १०० दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्री अहिले देशमै रहेर काममा केन्द्रित भएको उनले प्रस्ट पारे।
“प्रधानमन्त्रीज्यूको भारत जाने समय जतिखेर आउँछ, त्यतिबेला उहाँ जानुहुन्छ। अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता धेरै भएकाले काममा बढी फोकस हुनुपरेको छ,” मन्त्री पोखरेलले भने, “त्यसैले प्रधानमन्त्रीज्यू अहिले भारत मात्र नभई कतै पनि जानुभएको छैन।









प्रतिक्रिया