काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा अविरल वर्षाका कारण विभिन्न सडक अवरुद्ध भएपछि प्रहरीले काठमाडौं–हेटौंडा चल्ने सवारीसाधनका लागि नयाँ रुट निर्धारण गरेको छ।प्रहरी प्रधान कार्यालयले आजदेखि लागू हुने गरी सवारीसाधनको प्रकारअनुसार वैकल्पिक रुट व्यवस्थापन गरेको हो।
नयाँ व्यवस्थाअनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ हुँदै जानुपर्नेछ। काठमाडौंमा रहेका यस्ता सवारीसाधन हेटौंडा फर्किँदा भने कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन काठमाडौं–हेटौंडा आवतजावत गर्दा पनि छुट्टाछुट्टै रुट प्रयोग गर्नुपर्नेछ। काठमाडौंको फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने र हेटौंडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने व्यवस्था गरिएको छ।
मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट आवतजावत गर्नुपर्ने प्रहरीले जनाएको छ।
विपद्को अवस्था रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। राजमार्गमा सवारी चलाउँदा धैर्य र अनुशासन कायम राख्न, आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न तथा ओभरटेक नगर्न चालकलाई अनुरोध गरिएको छ।
यसैबीच, भोटेकोशीमा आएको बाढी तथा लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएर मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।









प्रतिक्रिया