काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकहो लोडर पुर्याइएको छ ।
भदौ १० गते आएको बाढीका कारण आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएका थिए । निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि अहिले १७८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ ।
यसअघि साना एस्काभेटरको प्रयोगबाट आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा उत्खनन गरिँदै आएको थियो । ठूला मेसिन आयोजनास्थलसम्म पुर्याउन कठिन भएपछि खोजी कार्य अपेक्षित रूपमा अघि बढ्न सकेको थिएन ।
धेरै दिनको प्रयासपछि आयोजनाको अडिट तथा मुख्य सुरुङ सफा गरी तीन वटा ठूला एस्काभेटर कार्यालय तथा आवास क्षेत्र रहेको बाढी प्रभावित क्षेत्रमा पुर्याइएको हो । तीमध्ये दुई वटा एस्काभेटर माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा खोजी तथा उद्धारका क्रममा प्रयोग गरिएका हुन् भने अर्को एस्काभेटर प्रवर्द्धक कम्पनीले व्यवस्थापन गरेको हो ।
अहिले ठूला एस्काभेटर र ब्याकहो लोडरको प्रयोग गरी बाढीले पुरिएका क्षेत्रमा जमेको लेदो, ठूला ढुंगा तथा माटो हटाउँदै उत्खनन भइरहेको छ । आयोजनाको कार्यालय तथा आवास क्षेत्रको वास्तविक अवस्था मंगलबारसम्म पत्ता लाग्ने अपेक्षा गरिएको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि आयोजनास्थलमा खोजी कार्य जारी रहेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनका अनुसार बाढी आएको भदौ १० गतेदेखि नै खोजी तथा उद्धारको प्रयास सुरु गरिएको थियो । भदौ १३ गते चिनियाँ टोलीले आयोजनास्थलको निरीक्षण गरे पनि दलदलका कारण आवश्यक उपकरण घटनास्थलसम्म लैजान समस्या भएको थियो ।
हाल आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोजी कार्य गरिरहेको छ । टोलीले सुरुङको प्रवेश विन्दुबाट दलदल हटाउँदै अडिट सुरुङभित्र करिब १.७ किलोमिटरसम्म प्रवेश गरेको जनाइएको छ । सो क्रममा सुरुङभित्र एउटा गाडीसमेत फेला परेको थियो ।
बाढीका कारण आयोजनाका ६ वटा आवासीय भवन र एउटा कार्यालय भवन पुरिएका छन् । पुरिएका संरचना पत्ता लगाउन हालसम्म करिब १५ मिटर गहिराइसम्म उत्खनन गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण आयोजनास्थलमा लैजाने क्रम जारी छ । बाढीले बगाएर ल्याएको लेदो, ठूला ढुंगा र माटोका कारण चुनौतीपूर्ण बनेको खोजी कार्यमा ठूला मेसिनरी उपकरणको प्रयोग सुरु भएपछि पुरिएका संरचना तथा सम्पर्कविहीन व्यक्तिहरूबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया