हेटौंडा। निरन्तर भइरहेको वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्न थालेपछि स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल जलाशयको पानीको सतह समुद्री सतहबाट एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर रहेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाधार क्षेत्रमा भइरहेको लगातारको भारी वर्षाले जलाशयमा पानीको बहाव बढेको हो। वर्षा जारी रहेमा पानीको सतह थप बढ्ने सम्भावना रहेको बताइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह छिट्टै एक हजार ५२८ मिटरभन्दा माथि पुग्न सक्ने सम्भावना रहेकाले नदीकिनार तथा तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।
प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई नदीकिनारबाट टाढा रहन तथा आवश्यक परे अग्लो र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, सम्बन्धित निकायबाट जारी हुने सूचना तथा मोबाइलमार्फत प्राप्त एसएमएस निर्देशनलाई पालना गर्न पनि अनुरोध गरिएको छ।
जलाशयको पानीको सतह नियन्त्रणमा राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा पूर्वसूचनाका लागि चेतावनी साइरन बजाइने कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ।
यसैबीच, सम्भावित जोखिमलाई ध्यानमा राख्दै देउराली–सिस्नेरी सडकखण्डमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुलाई पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।









प्रतिक्रिया