काठमाडौ । सुनवल नगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न काम, कारबाही तथा विकास निर्माण गतिविधिको वार्षिक समीक्षा कार्यक्रमका क्रममा यस्तो निर्णय गरेको हो ।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढी तथा विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवार, घाइते, विस्थापित तथा प्रभावित समुदायको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
त्यस्तै, प्राकृतिक विपद्को दुःखद् समयमा अनावश्यक मनोरञ्जनात्मक कार्यक्रम तथा तडकभडक नगरी संयमित र संवेदनशील बन्न नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ। विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग र सहकार्यका लागि समेत नगरपालिकाले अपिल गरेको छ।










प्रतिक्रिया