सरस्वती बुढा सुर्खेत, साउन ३०
कर्णाली प्रदेश सरकारले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि अस्पताल आवतजावतमा लाग्ने यातायात खर्च उपलब्ध गराउने भएको छ। विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, गर्भवती, प्रसूति तथा आपतकालीन अवस्थाका बिरामीलाई अधिकतम २० हजार रुपैयाँसम्म यातायात खर्च दिने निर्णय गरिएको हो।
यो सुविधा विशेषगरी कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रमा बस्ने बिरामीलाई लक्षित गरिएको छ। स्वास्थ्य सेवा लिन अस्पताल पुग्न कठिनाइ भोगिरहेका र यातायात खर्चका कारण उपचारमा ढिलाइ हुने अवस्था कम गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।
रकम प्रदेशभित्रका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा स्थानीय तहसँगको समन्वयमा उपलब्ध गराइनेछ। बिरामी वा उनका परिवारले स्वास्थ्य संस्थाबाट सिफारिस लिएर आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ। रकम बिरामीको बैंक खातामा वा प्रत्यक्ष हस्तान्तरणमार्फत उपलब्ध गराइनेछ।
स्वास्थ्य कार्यालयका अनुसार यस योजनाबाट विगतमा उपचारमा जान नसकेर समस्यामा परेका धेरै विपन्न बिरामी लाभान्वित हुनेछन्। सडक र यातायात सुविधा सीमित कर्णालीमा यो व्यवस्था जीवनरक्षक सावित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया