काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार करिब ३० जना अझै अस्पतालमा उपचाररत छन्।
गत साता ‘मेथानोल’ मिसिएको अवैध मदिरा सेवनपछि १६० जनाभन्दा बढी बिरामी परेका थिए। यसमध्ये हालसम्म विभिन्न देशका २३ आप्रवासी कामदारको मृत्यु भएको कुवेती स्वास्थ्य मन्त्रालयले जनाएको छ।
घटनापछि कुवेत प्रहरीको विशेष अभियानमा ६७ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये नेपालीसहित भारतीय र बंगलादेशी नागरिक पनि छन्। साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरिएको र उनको बयानका आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।
कुवेती अधिकारीहरूले अस्पतालमा उपचाररत आप्रवासीहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरी देशनिकाला गर्ने तयारी गरेका छन्। उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ।
हाल कुवेतमा करिब १ लाख ६० हजार नेपाली कामदार छन्। दूतावास र एनआरएन कुवेतले नेपाली समुदायलाई मदिरा सेवन, उत्पादन वा कारोबारजस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
प्रतिक्रिया