१३ भाद्र २०८२, शनिबार | Sat Aug 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरा पर्वको आज तेस्रो दिन,गौरादेवीलाई घरघरमा भित्र्याइँदै



काठमाडौं । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई घरघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा ‘ठूली गौरा’ भनिने आजको दिनलाई महिलाहरूले विशेष धार्मिक महत्वका साथ मनाउने गर्दछन्।

आज अमुक्ताभरण सप्तमीका अवसरमा ब्रतालु महिलाहरू बिहानै नुहाइधुइ गौराघरमा देवीको पूजा गर्न जुटेका छन्। परम्पराअनुसार साँझको समयमा महिलाहरूले गौरादेवीको प्रतिमूर्ती स्थापना गरी फलफूल, बिरुडा र दुबधागो चढाएर पूजा अर्चना गर्छन्।

स्थानीय संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार खेतबारीबाट संकलित साउ, अपामार्ग, तीललगायत वनस्पतिबाट गौराको प्रतिमूर्ती बनाई पूजा गर्ने प्रचलन रहिआएको छ। महिलाहरूले गौरापर्वमा विशेष प्रकारको धागो अर्थात् दुबधागो धारण गर्छन्, जसलाई आज देवीलाई अर्पण गरेर भोलि दुर्वाष्टमीका दिन धारण गर्ने परम्परा छ।

यस अवसरमा कुण्डस्नान, सामूहिक भजन-कीर्तन र ब्रतालु महिलाहरूको विशेष जमघट हुने गर्छ। गौरा पर्वको मुख्य दिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने प्रथा छ।

सुदूरपश्चिममा दशैंभन्दा पनि बढी महत्त्व दिइने यो पर्वमा ढुस्को, धमारी, चैतलगायत मौलिक खेलहरू खेल्ने परम्परा रहिआएको छ। यस अवसरका लागि विदेश तथा अन्य स्थानमा रहेका सुदूरपश्चिमेलीहरू पनि घर फर्किने गरेका छन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शनिबार  ७ : ३० बजे