काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न आज दिउँसो बोलाएको बताए ।
‘दशैं नजिकिएकाले अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भनेर सरकारले छलफलमा बोलाएको छ,’ सिटौलाले भने, ‘वर्षाको अवस्था, शान्ति सुरक्षाको अवस्था सबै विश्लेषण गरेर आवश्यक निर्णय हुन्छ ।
उनका अनुसार जेनजी युवाको प्रदर्शनको क्रममा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटपछि लागेको कर्फ्यु हट्दै गए पनि शान्ति सुरक्षाको अवस्थामा यातायात व्यवसायीमा अझै संशय बाँकी नै छ । यदि सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार छन् ।
यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ ।
प्रतिक्रिया