सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले संरचना अझै टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।
बैठकले भदौ २३ र २४ गते भएका घटनामा ज्यान गुमाएका प्रदर्शनकारीलाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ। मृतकको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते शोक दिवस मनाउने समेत सरकारको निर्णय छ।
पीडित परिवारलाई तत्काल राहतस्वरूप जनही १० लाख र अन्य खर्चका लागि थप ५ लाख रुपैयाँ दिने तयारी भएको छ। राहत वितरण गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हुनेछ। घाइतेहरूको नि:शुल्क उपचार गर्ने व्यवस्था पनि मिलाइने मन्त्री अर्यालले जानकारी दिए।
अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएकी थिइन्। यसअघि उनले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेकी थिइन्।
प्रतिक्रिया