१ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक स्थायित्वबिनै अर्थतन्त्र उठ्दैन : गभर्नर पौडेल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबलमा अभिवृद्धि अपरिहार्य रहेको बताएका छन्। उनले केवल स्रोत जुटाएर मात्र होइन, प्रणालीगत सुधारमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने कार्यक्रममा गभर्नर पौडेलले पछिल्ला घटनाक्रमले अर्थतन्त्रलाई थप चुनौती दिएको उल्लेख गरे। उनका अनुसार कानुनमा स्पष्टता नहुँदा नीति–निर्माणदेखि कार्यान्वयनसम्म समस्या हुने गरेको छ। “कानुनको स्पष्टता नभएमा गलत व्याख्या हुन्छ, जसले नकारात्मक सन्देश दिन सक्छ। त्यसैले स्पष्टता पत्रकारितादेखि प्रशासनसम्म सबै क्षेत्रमा आवश्यक छ,” उनले भने।

उनले हालैका जेनजी प्रदर्शनका क्रममा भौतिक संरचना क्षति भए पनि त्यसको पुनःनिर्माणका लागि स्रोत जुटाउन गाह्रो नहुने धारणा राखे। तर, पुनःनिर्माणभन्दा पनि सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हुनुपर्नेमा उनले जोड दिए। “ठूलो स्रोत जुटाउन सकिन्छ, तर सुशासन र क्षमता नबढाएसम्म परिणाम दीर्घकालीन हुँदैन,” पौडेलको भनाइ थियो।

गभर्नरले प्रदर्शनका क्रममा निजी व्यापारिक भवनहरूमा भएको क्षतिले व्यवसायीमा त्रास बढाएको स्वीकार गर्दै अब तिनको मनोबल उच्च बनाउनुपर्ने बताए। उनले भने, “स्वदेशमै लगानी रोक्ने वातावरण बनाउन सकियो भने विदेशी लगानी आकर्षित गर्न सजिलो हुन्छ। लगानीमैत्री नीतिबिना अर्थतन्त्रलाई गतिशील बनाउन सकिँदैन।”

उनका अनुसार हालको प्राथमिकता स्वदेशी लगानीलाई सुरक्षित राख्नु, कानुनी स्पष्टता दिनु र निजी क्षेत्रलाई आत्मविश्वास दिलाउनु हो। त्यसपछि मात्र विदेशी लगानीकर्तालाई नेपालतर्फ आकर्षित गर्न सकिने उनले बताए।

प्रकाशित मिति : १ आश्विन २०८२, बिहिबार  ६ : १५ बजे