काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार आयोग गठनसम्बन्धी प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेश हुने तयारी भएको छ । “अब बस्ने पहिलो क्याबिनेट बैठकबाटै यसबारे निर्णय हुनेछ,” अधिकारीले rastrasarokar लाई बताए ।
मन्त्रालयले आयोग गठनका लागि आवश्यक विज्ञको रोस्टर तयार गरेर छलफल गरिसकेको छ भने आयोगको कार्यक्षेत्र (टीओआर) समेत टुंगो लागेको जनाइएको छ ।
स्रोतका अनुसार विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई आयोगको नेतृत्व दिने तयारी भइरहेको छ । भ्रष्टाचारविरोधी छवि भएको कारण कार्कीलाई नेतृत्वका लागि उपयुक्त मानिएको हो । आयोग तीन सदस्यीय रहनेछ र सदस्यहरूको नाम पनि लगभग टुंगो लागिसकेको छ ।
यसअघि नेपाली सेनाको सहजीकरणमा जेनजीसँग भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । कार्कीले मन्त्रिपरिषद् विस्तार गरेसँगै बसेको पहिलो बैठकले आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया