काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध सकिएसँगै भोलि असोज ६ गते घटस्थापनादेखि दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । दशैं मनाउन तयारी गर्नेहरूका लागि मौसम कस्तो होला भन्ने चासो बढ्दै गएको छ ।
मौसमविद् डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । उनका अनुसार घटस्थापनादेखि एक सातासम्म मौसम त्यति सक्रिय नदेखिए पनि बेलुका र साँझतिर केही ठाउँमा वर्षा हुने सम्भावना रहनेछ । तर दशैंको मध्यतिर मनसुन पुनः सक्रिय हुने देखिएको उनले बताए ।
“अर्को हप्ता दशैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ । जसका कारण नेपालभरि हिले दशैं हुने सम्भावना धेरै छ,” डा. पोखरेलले भने ।
बंगालको खाडीमा विकसित हुँदैछ प्रणाली
विपद् व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेति भन्छन्, दशैंसम्म नेपालमा मनसुन कायमै रहने संकेत देखिएको छ । उनका अनुसार सेप्टेम्बर २५ (असोज ९) देखि बंगालको खाडीमा पानी पार्ने प्रणाली विकसित हुँदैछ, जसको असर मुख्यतया बंगलादेश, म्यानमार र भारतका पूर्वी राज्यमा पर्ने भए पनि नेपालको पूर्वी भूभागमा आंशिक असर पर्ने सम्भावना छ ।
तर, विभिन्न मौसम मोडेलहरूले देखाएका पूर्वानुमान फरक–फरक देखिएकाले आधिकारिक सूचना जल तथा मौसम विज्ञान विभागबाटै लिनुपर्ने उनको सुझाव छ ।
विभागले के भन्छ ?
जल तथा मौसम विज्ञान विभागले भने दशैं विशेष बुलेटिनमार्फत औपचारिक जानकारी दिने तयारी गरेको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार तीन दिनभन्दा लामो अवधिको आधिकारिक पूर्वानुमान विभागले सामान्यतया सार्वजनिक नगर्ने भएकाले अन्य स्रोतको सूचनामा भर नपर्न उनले आग्रह गरे ।
विभागका अर्का एक मौसमविद्का अनुसार बंगालको खाडीमा बन्ने प्रणालीको सिधा असर नेपालमा नपर्ने देखिएको छ । “त्यो प्रणाली मध्य भारत हुँदै बहने भएकाले नेपालमा सिधा असर पर्दैन,” उनले भने ।
हाल आज कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मध्यम खालको वर्षा हुने सम्भावना छ भने भोलि र पर्सि अधिकांश भूभागमा मौसम सफा रहने विभागको अनुमान छ ।
प्रतिक्रिया