काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली युवामाथि धम्की र दादागिरी गरेको आरोप दुई नेपाली व्यक्तिमाथि लागेको छ।
सन्तोष गुरुङ उर्फ ‘सन्तोष जिरे’ र ज्ञानेन्द्र गुरुङ उर्फ ‘मिस्टर गुरुङ’ नामले चिनिने व्यक्तिहरूले यूएईमा रहेका नेपाली युवामाथि दबाब सिर्जना गर्दै त्रसित पार्ने गतिविधि गरेको आरोप लागेको हो।
प्राप्त जानकारीअनुसार, सन्तोष गुरुङ केही समयअघि नेपालमा कारागारबाट रिहा भएका थिए र हाल दुबईमा रहेको बताइएको छ। त्यस्तै, ज्ञानेन्द्र गुरुङमाथि पनि विभिन्न आपराधिक गतिविधिसँग सम्बन्ध रहेको आरोप लगाइएको छ।
उनीहरू मिलेर यूएईमा रहेका नेपाली युवामाझ आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको दाबी गरिएको छ। नेपाल, यूएई तथा भारतको दिल्लीसम्म आफ्नो पहुँच र प्रभाव विस्तार गर्न खोजिएको भन्ने आरोपसमेत सार्वजनिक भएको छ।
यद्यपि, उनीहरूमाथि लगाइएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। सम्बन्धित निकायबाट समेत यस विषयमा आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।
यूएईमा रोजगारी, व्यवसाय तथा अन्य विभिन्न पेसामा संलग्न नेपाली नागरिकको सुरक्षा र सम्मान सुनिश्चित गर्नु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। कसैले धम्की, जबर्जस्ती वा गैरकानुनी गतिविधिमार्फत अन्य व्यक्तिलाई त्रसित बनाएको भए सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी कानुनअनुसार आवश्यक कारबाही अघि बढाउनुपर्ने देखिन्छ।









प्रतिक्रिया