सरस्वती बुढा, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११, ठूलो ब्युएनीस्थित रत्न राजमार्गमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा पर्दा २७ जना यात्रु घाइते भएका छन्। नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क. प्र.०२००९ ख १२१९ नम्बरको इ.प्र. बस अनियन्त्रित भई सडक छेउमा दुर्घटनाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको हो।
प्रहरी नायब उपरीक्षक सुषिल खड्काका अनुसार बसमा सवार २७ जना यात्रु घाइते भए पनि गम्भीर अवस्था भने कसैको छैन। उद्धारपछि सबैलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा लगिएको र अहिले सबैको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो।
प्रत्यक्षदर्शीका अनुसार बस सडकको मोड पार गर्ने क्रममा अचानक अनियन्त्रित बनेको थियो। बस तीव्र गतिमा गुडिरहेको र चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको बताइएको छ। दुर्घटना पश्चात् प्रहरी र स्थानीयवासीको सहयोगमा यात्रुहरूलाई तत्काल उद्धार गरिएको थियो।
घाइते हुनेमा सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, मुगुलगायतका विभिन्न जिल्लाका यात्रुहरू रहेका छन्।
उनीहरूमा सुर्खेत बराहताल गाउँपालिका-४ का ३८ वर्षीय हरी मल्ल (कम्मरमा चोट, अवस्था मध्यम), जुम्ला चन्दननाथ नगरपालिका-९ का १८ वर्षीय दिपेन्द्र दमाई (बायाँ हातमा चोट), जुम्ला सिन्जा गाउँपालिका-५ का २८ वर्षीय महेन्द्र शाही (बाहिरी चोटपटक), सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ का ३८ वर्षीय लालबहादुर शाही (गालामा चोट), २७ वर्षीया लक्ष्मी कठायत (बाहिरी चोटपटक), ३८ वर्षीय नरेश शाही (नाकमा चोट), लेखबेशी नगरपालिका-६ का ३५ वर्षीय पशुराम घर्ती मगर (खुट्टामा चोट), दैलेख दुल्लु नगरपालिका-६ का २३ वर्षीय शम्भेर खड्का (बाहिरी चोटपटक), दैलेख दुल्लु नगरपालिका-११ का ३० वर्षीय लक्ष्मण कार्की (टाउकोमा चोट), जुम्ला सिन्जा गाउँपालिका-३ की २४ वर्षीया राज्य लक्ष्मी हमाल (दुबै हातखुट्टामा चोट), दैलेख दुल्लु नगरपालिका-१० का २६ वर्षीय गणेश योगी (दुबै हातमा चोट), कालिकोट पचाल झरना गाउँपालिका-३ का २२ वर्षीय रोशन बिक (घाँटीमा चोट), जुम्ला सिन्जा गाउँपालिका-४ का २२ वर्षीय ऐन रोकाया (छातीमा चोट), १६ वर्षीया रक्षा धिताल (दुबै हातमा चोट), २२ वर्षीय विष्णु शाही (हात र खुट्टामा चोट), मुगु सोरु गाउँपालिका-९ का ३२ वर्षीय दिनेश शाही (छाती र टाउकोमा चोट) र जुम्ला चन्दननाथ नगरपालिका-९ का २९ वर्षीय श्री परियार (कम्मर र हातमा चोट) रहेका छन्।
घाइते सबैलाई तत्काल उद्धार गरी सुर्खेतस्थित देउती नर्सिङ होमसहित विभिन्न अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सकहरूले सबै घाइतेको अवस्था सामान्य रहेको र कुनै गम्भीर चोटपटक नभएको बताएका छन्। उपचारपछि धेरैलाई घर फर्काउने तयारी भइरहेको समेत जनाइएको छ।
बस किन र कसरी अनियन्त्रित भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। चालकलाई नियन्त्रणमा लिएर बयान लिने प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। यसअघि पनि सो मार्गमा तीव्र गतिका कारण दुर्घटना हुने घटना दोहोरिइरहेका कारण स्थानीयवासीले सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
प्रतिक्रिया